मालव्य महापुरुष योग नै प्रचण्डको राजनीतिक सफलताको कारक हो : ज्यो. शिव बल्लभ रेग्मी — OSNepal

मालव्य महापुरुष योग नै प्रचण्डको राजनीतिक सफलताको कारक हो : ज्यो. शिव बल्लभ रेग्मी

LC (KTM) December 25, 2022 0

काठमाडौं । सत्ता गठबन्धनसँग कुरा नमिलेपछि सत्तामा जान माहिर नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले कित्ता बदले र फेरी एक पटक प्रधानमन्त्री बन्न पानी बाराबारको अवस्थामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेका छन् । सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएसँगै राजनीतिक सरगर्मी बढेको छ ।

यसबिच विश्व ज्योतिष महासंघका युवा विभागका महासचिव ज्यो. शिव बल्लभ रेग्मीले प्रचण्ड आफ्नो योगका कारण सबैभन्दा शक्ति शाली बनेको र शनिश्चर चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्डलाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग भएकै कारण उनी फेरी प्रधानमन्त्री बन्ने वातावरण बनेको ओएसनेपालसँगको कुराकानीमा दाबी गरेका छन् ।

देउवाका ज्योतिषी सुरेश चन्द्र रिजालले देउवा ६ पटकसम्म प्रधामन्त्री बन्ने भनेर भविष्यवाणी गरेका बेला एक्कासी सत्ता गठबन्धनलाई भत्काएर प्रचण्ड ओलीको कित्तामा पुगेसँगै आज दिनभर नेपालको राजनीतिक माहोल तात्यो । जुन दृश्यलाई ज्योतिषिय भाषामा युवा तथा प्रभावशाली ज्योतिषी रेग्मीले प्रचण्डको लेखान्तका आधारमा ब्याख्या गरेका छन् । आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए ।

राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग भित्री रुपमा सहकार्य गरिरहेको थियो । बाठा प्रचण्डले देउवाले आफ्नो घमण्ड र हठ नछाड्ने संकेत देखे लगत्तै उनी बालुवाटारबाट सिधै खुमलटार हुँदै बालकोट पुगे र आफ्नो पावर देखाइदिए र बहुमतसहितको दावी पेश गर्दै प्रधानमन्त्री बन्न सफल भए । जुन शक्ति प्रचण्डको कुण्डलीमा रहेको शश महापुरुष योगको प्रभाव हो भन्छन् विश्व ज्योतिष महासंघका युवा विभागका महासचिव रेग्मी ।

नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘प्रचण्ड’ले ओलीसँग मिलेर सत्ताकै वरीपरी रहीरहने ५ वर्षे खेल खेल्ने योजना उनले क्षणभरमा नै बनाए । आफ्ना सहयोद्धाहरुको विछोड र वियोग, पारिवारिक विचलन लगायतका अनेकौं घेराहरुले प्रचण्डलाई प्रभाव पार्न नसक्नु पनि शश योगकै कारण हो । शुक्र केन्द्रवर्ती अनि स्वगृही भएर बनेको मालव्य महापुरुष योग पनि प्रचण्डको राजनीतिक सफलताको प्रमुख कारक हो ।

ज्योतिषी रेग्मीका अनुसार शुक्रले भौतिक तथा राज्य सुख सुविधा प्रदान गर्दछ । जुन योग अहिले आएर तेस्रो पटक प्रचण्डलाई जुरेको छ । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित भएका ‘प्रचण्ड’ २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भए र अहिले फेरी प्रचण्डले वर्षौदेखि चिताएको उनको राजयोगको सपना पुरा भएको छ । कम्युनिष्ट आन्दोलनमा विभिन्न हण्डर ठक्कर खाएका प्रचण्ड २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०६५ साउन ३१ गते उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् ।

आइतबार २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएसँगै उनी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिनिधसभा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएसँगै प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेपछि उनी तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर