काठमाडौं । अभिनेत्री बिपना थापाले झण्डै १३ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएकी छन् । नीता डुंगानाको छायांकन तयारीमा रहेको फिल्म ‘ह्रस्वदीर्घ’मा उनी प्रमुख कलाकारको रुपमा अनुबन्धित भइसकेको बताइएको छ । निर्देशक चन्द्र पन्तका अनुसार बिपनालाई प्रमुखमध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको हो ।
विवाहपछि फिल्मबाट टाढिएकी बिपना पछिल्लो समय भारतको कोलकातास्थित घरमा बस्दै आएकी छन् । अब भने उनी कमब्याकको तयारीमा रहेकी हुन् । बिपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ जुलाइ २३, २०१० मा रिलिज भएको थियो ।
फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् । भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ । दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने तयारी छ ।