क्रोएसियाको टिमको खुलेर प्रशंसा गरे अर्जेन्टिनी प्रशिक्षकले — OSNepal

क्रोएसियाको टिमको खुलेर प्रशंसा गरे अर्जेन्टिनी प्रशिक्षकले

LC (KTM) December 13, 2022 0

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनै लाग्दा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन् ।

उनले लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको टिम एकता आफूहरुका लागि ठूलो चुनौती हुने स्विकारेका छन् । पत्रकारसम्मेलनमा उनले भने ‘हामीले एक प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौं ।

यो खेल राम्रो टिमको विरुद्धमा छ । उनीहरु एक टिम बनेर खेल्छन् । यो हाम्रो लागि एक चुनौती हो । सो अवसरमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले क्रोएसियाको टिमको प्रशंसा गर्दै भने उनीहरुसँग यस्ता खेलाडी छन्, जो लामो समयसम्म खेलिरहन सक्छन् ।’

‘उनीहरुसँग एक विशिष्ट खेल शैली छ । उनीहरुले यसलाई बदल्दैनन् । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १(० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३(० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर