नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान — OSNepal

नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान

LC (KTM) December 13, 2022 0

हुम्ला-हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको हो ।

कोरोना महामारीका कारण विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले बताउनुभयो । विद्यालयको तहअनुुसार माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयलाई सामग्रीको परिमाण वितरण गरिएको हो ।

लिमीको तिल गाउँको हिमशिखर प्राविमा विद्यार्थी सङ्ख्या नभएकाले विद्यालय बन्द भएको हुँदा सो विद्यालयलाई भने सामग्री वितरण गरिएको छैन । वितरण गरिएका सामग्री २६ किसिमका छन् । वितरित सामग्रीमा शैक्षिकतर्फ एउटा विद्यालयलाई ज्ञानबद्र्धक ९० थान पुस्तक, कापी, फाइल, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फोटोकपी पेपर, साउण्ड सिस्टम छन् भने खेलकुद सामग्रीतर्फ क्यारेमबोर्ड, भलिबल, नेट, पम्प, ब्याडन्टिन रकेटलगायत छन् ।

यसका लागि गाउँपालिकाले रु ४७ लाख खर्च गरेको छ । कूल खर्च भएको बजेटमध्ये एक जना शिक्षकसमेत भर्ना गरिएको थियो । सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आएको बजेटमध्ये गाउँपालिकाले कार्यक्रम गर्नुपर्ने कार्यक्रमबाट विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले बताउनुभयो ।

सहयोग सामग्री गाउँपालिकाका अध्यक्ष प्रेम लामाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभएको हो । वडा नं १ देखि ५ सम्म १६ वटा विद्यालयलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर