काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल खेलमा मोरक्कोसँग पराजित पोर्चुगल प्रतियोगिताबाट बाहिरिएसँगै विश्वभरका खेलाडीहरुले आ आफ्ना तर्कहरु राखिरहेका छन् ।
मोरक्कोसँग स्तब्ध हुँदा पोर्चुगलका कप्तान रोनाल्डो निकै भावुक बनेको दृश्य भाइरल बनेपछि नेपालको राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि रोनाल्डोको तारिफ नगरी बस्न सकेनन् । उनले रोनाल्डोको प्रशंसा गर्दै भने तिमी खेलप्रेमीहरु सबैका लागि बिजेता हौ । हिजो पनि थियौ र आज पनि तिमी सबैको मन मनमा च्याम्पियनका रुपमा स्थापित छौ ।
यसैबिच भारतका ब्याट्सम्यान विराट कोहलीले पनि रोनाल्डोका लागि भावुक पोस्ट लेखेका छन् । उनले लेखेका छन् ‘कुनै पनि ट्रफी र उपाधिले तपाईंबाट यो खेल र विश्वभरका खेलका फ्यानहरुलाई दिएको कुरा खोस्न सक्दैन ।
कुनै पनि टाइटलले यो बताउन सक्दैन कि तपाईंले आफ्ना मानिसको जीवनमा कस्तो असर पार्नुभएको छ र जब म विश्वभरीका थुप्रै मानिसहरु तपाईंले खेलिरहेको हेर्दा कस्तो महसुस गर्छौँ ।’
‘यो भगवानको उपहार हो । यो एक आशीर्वाद जस्तै हो, तपाईं जतिबेला मैदानमा आउनुहुन्छ तपाईं कठिन परिश्रम र समर्पणको प्रतिक बन्नुहुन्छ । तपाईं कुनै पनि खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ । मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् ।
शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । पोर्चुगल पराजित भएको एक दिनपछि रोनाल्डोले आइतबार सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । मैले करिअरमा धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, पोर्चुगलका लागि विश्वकप जित्ने सबैभन्दा ठूलो सपना थियो,’ रोनाल्डो भन्छन्, ‘सपना पूरा गर्न म धेरैपटक लडेँ, एकपटक नभएर पाँचपटकसम्म लडेको खेलाडी हुँ ।’