म्याङ्लुङ- सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।
विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।
जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उहाँको परिवारलाई । तर यतिबेला उहाँको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बन्नुभएको उहाँ यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आउनुभएको छ ।
हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आउनुभएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थाल्नुभएको छ । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उहाँको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गर्नुभएको छ ।
हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो । छोराछोरी पढाउन निकै मुस्किल हुन्थो । बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ । तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो । घर चलाउनै मुस्किल भएको उहाँका श्रीमान् सूर्यबहादुर विकले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।” उहाँ थप्नुहुन्छ, “सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।”
छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उहाँ घरमा हुनुहुन्छ । व्यवसाय सञ्चालनमा उहाँलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उहाँको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री गर्ने गर्नुभएको छ । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आउनुभएकी उहाँ आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।
मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उहाँले व्यवसाय गर्दै आएउनुभएको छ । खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् । अचार उद्योगमा उहाँका श्रीमान् सूर्यबहादुरले साथ दिँदै आउनुभएको छ । सूर्यबहादुर भन्नुहुन्छ, “सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।”
अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छाँै ।
अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बन्नुभएको छ ।