म्याग्दी- सदरमुकाम बेनीमा शनिबार सम्पन्न २०औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई एकका विरुद्ध दुई गोल गर्दै मङ्गला गाउँपालिका–५ मा रहेको शारदा माविले पहिलोपटक जेसिजकपको उपाधि जितेको हो ।
यसै वर्षमात्रै कक्षा १० को पठनपाठन सुरु गरेको शारदा माविले गत वर्षदेखि मात्रै जेसिजकपमा सहभागिता जनाएको थियो । बेनीको खुलामञ्चमा भएको फाइनलको पहिलो हाफमा प्रकाश माविले एक गोल गर्दै शारदा माविलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किएका शारदा माविका खेलाडीले दुई गोल गरी प्रकाश माविलाई एक गोलमै रोकेपछि जेसिजकपको उपाधि चुमेका हुन् ।
प्रतियोगितामा विजेता शारदा माविका खेलाडीलाई जेसिजकप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ५२ हजार दुई सय २२ र उपविजेता प्रकाश माविका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद रु ३२ हजार दुई सय २२ पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दीप खत्री, संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले विजेता र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
फाइनल खेलमा शारदाका सिमन सिउथानी उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षकको पुरस्कार शारदाकै देवेन्द्र पुर्जाले हात पारे । प्रतियोगितामा प्रकाश माविका रिजन पुनले सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाउन सफल भए भने प्रकाश माविकै सुमन पुन उत्कृष्ट डिफेन्डर र सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर बन्न सफल भए । प्रतियोगितामा केबी एकेडेमीका दीक्षित पुन राइजिङ प्लेयर, बालमन्दिर आधारभूत विद्यालयका शिक्षक बिर्सना चोखाल उत्कृष्ट कोच र केवी एकेडेमी अनुशासित टिमको रूपमा पुरस्कृत भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राइजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु दुई हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ भने अनुशासित टिमलाई नगद रु सात हजार सात सय ७७ को साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
गत मङ्सिर २१ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसिजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रूपमा आर्थिक सहयोग गरेको थियो । ‘जेसिजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।