टङ्कीसिनवारी-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताउनुभयो ।
हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राई सत्ता गठबन्धनको तर्फबाट भोजपुर १(१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले नौ, नेकपा (एस)ले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा जीत हासिल गरेको थियो ।
पत्रकार उपचार कोषमा एक लाख सहयोग- नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा व्यवसायी निर्मल भट्टराईले रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले महासङ्घका अध्यक्ष एकराज गिरीलाई आज विवाह वर्षगाँठको अवसरमा सो रकम प्रदान गर्नुभएको हो ।
नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारलाई घाइते र बिरामी हुँदा कोषबाटै महासङ्घले उपचार खर्च प्रदान गर्दै आएको छ । महासङ्घको उपचार कोषलाई रु एक करोड पु¥याउने लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो । कोषमा हाल रु ६५ लाख जम्मा भइसकेको छ ।
कोषमा जिल्लाका पत्रकारसहित विभिन्न सामाजिक अभियान्ताहरूले पनि विवाह वर्षगाँठ तथा जन्मदिनका अवसरमा आर्थिक सहयोग गर्दै आएका छन् । विगतमा उपचारका लागि मात्र सहयोग रकम प्रदान गर्दै आएको महासङ्घले अब पत्रकार महिलालाई सुत्केरी खर्चस्वरुप रु २५ हजार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।