कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिए पछि काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण गरिएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरे लगत्तै अवतरण गरिएको नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन् ।
जहाजलाई बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । ।आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारिएको थियो । सामान झारे पछि जहाजलाई अहिले बैंकक उडाउने तयारी भइरहेको छ ।
इण्डिकेटरले धुँवा उठेको संकेत गरेपनि अवतरण पछि चेकजाँच गर्दा कुनै खराबी नदेखिएको सहायक प्रवक्ता घिमिरेले बताए । सो जहाजमा १५२ जना यात्रु सवार रहेका छन् ।