पोखरा, कात्तिक २९ । इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ ।चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए ।
त्यसमा क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल छन्। उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्रसँगै नगेन आर्ट एकेडेमीबाट ७५%, ५०% र २५% छुट प्राप्त गरेका छन् ।
प्रमुख निर्णायक प्राज्ञ नगेन सिंहले विद्यार्थीले चित्रकला मात्र बुझेका कारणले २०३ चित्रकलामा १२ मात्र थिममा बनेको बताउदै अब नगेन आर्ट एकेडेमी मार्फत चित्रकलाको ज्ञान बाड्ने जानकारी दिनुभयो ।इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले प्रतियागिताको शिर्षक भाईटिका रहेको तर धेरै विद्यार्थीले अन्य चित्र पठाएका कारणले १२ कलाकृति छान्न परेको बताए ।