ताराखोलामा मनाइयो ‘भुस पोल्ने पर्व’ — OSNepal

ताराखोलामा मनाइयो ‘भुस पोल्ने पर्व’

LC (KTM) November 14, 2022 0

बागलुङ-ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गरेका छन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएका छन् । मुख्य गरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ । पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन्छ ।

गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरका अनुसार हरेक वर्ष कात्तिक २४ गतेदेखि नै पर्व मनाउन सुरु हुन्छ । सो दिन शङ्खुबारी (मूल बारी) मा भुस पोल्ने गरिन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । संस्कृतिकर्मी घर्तीमगरले पहिलेपहिले अर्गलमा भुस पोलेपछि मात्र छिमेकी गाउँमा खेती सुरु गर्ने चलन रहेको बताउनुभयो ।

शङ्खुघर (गाउँको मूल घर) का मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा हुन्छ । त्यहाँ उब्जेको जौ बाली शुङ्खुघरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ ।

पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ, २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ ।

२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । “यो पर्वका धेरै आयाम छन्, पितृकार्यदेखि पुत्र बढाइँसम्मका परम्परा यसमा जोडिएका छन्”, समितिका सचिव घर्तीमगरले भन्नुभयो ।

पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्ने चलन छ । त्यहाँ पूजाआजा गरे सहकाल भित्रने र खेतीबाले सप्रने जनविश्वास छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीकस्वरुप मूल घर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ ।

सो दिन शङ्खुबारीमा बाली छर्नुपूर्व अविवाहित युवायुवती जम्मा भएर बारीमा मेलो खन्ने गर्छन् । पूजाको विधिपछि युवा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन् र युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् ।

मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । यसलाई नै ‘छापे खन्ने’ भन्ने गरिएको स्थानीय बताउँछन् । विवाहित युवायुवतीले छापे खन्न नहुने मान्यता छ । त्यसको भोलिपल्ट २७ गतेदेखि यो वर्ष पहिलो छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुन्छ ।

पुत्र बढाइँमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । “यो वर्ष जजस्को घरमा पहिलो छोरा जन्मेका छन्, त्यहाँ गोपिचन राजाको जीवन कहानीमा आधारित कथा भन्ने, झाँकी देखाउने चलन छ”, संस्कृतिकर्मी घर्तीमगरले भन्नुभयो, “पुत्र बढाइँ गरेपछि विवाहपूर्व गरिने सबै संस्कार पूरा हुने मानिन्छ ।”

पुत्र बढाइँलाई परिवारका सदस्य र आफन्तले उत्सवका रुपमा मनाउने गर्छन् । पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल आएका मगरहरुले सो पर्वको चलन बसालेका हुन् । अर्गल खेलकुद विकास मञ्चले भुस पोल्ने पर्वका अवसरमा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । यस वर्ष पनि पुरुष तथा महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषबाण, रस्साकस्सीलगायत प्रतियोगिता राखिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर