कालिकोटमा फलफूल तथा तरकारी चिस्याउन केन्द्र सञ्चालनमा — OSNepal

कालिकोटमा फलफूल तथा तरकारी चिस्याउन केन्द्र सञ्चालनमा

LC (KTM) June 29, 2021 0

मान्म, १५ असार – कालिकोटको खाँडाचक्र नगरपालिका–१ को मान्ममा फलफूल तथा तरकारी चिस्याउन चिस्यान केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको अनुदानमा हिमचुली कृषि सहकारी संस्था र जेकेतरकारी तथा फलफूल केन्द्र खाँडाचक्र कालिकोटको संयुक्त साझेदारीमा चिस्यान केन्द्र सञ्चालनमा आएको हो ।

विषेश गरेर कालिकोटमा पाइने स्याउ र तरकारी चिस्याउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । कृषि विकास कार्यालय कालिकोटको रु ४० लाख (५० प्रतिशत) अनुदान उपलब्ध गराएको र हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्रको रु ४० लाख (५० प्रतिशत) रकममा चिस्यान केन्द्रको निर्माण गरिएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताउनुभयो । “कार्यालय र सहकारीको बराबरी साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।”

जिल्लामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेकामा अबका दिनमा लामो समयसम्म चिस्यान केन्द्रमा भण्डारण गर्न सजिलो हुने प्रमुख बस्नेतले बताउनुभयो । “बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेको थियो”, उहाँले भन्नुभयो, “अब यहाँ भण्डारण भएपछि लामो समयपछि पनि बिक्री गर्न पाइन्छ ।”

कालिकोटमा उत्पादन हुने स्याउ, सुन्तला, तरकारीजस्ता वस्तु बेमौसममा पनि बिक्री वितरण गर्न सकिने जिल्लामा पहिलो पटक चिस्यान केन्द्र सञ्चालन आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो । कालिकोटमा विद्युत् पुगिसकेकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सहज हुने जेके फलफूल तथा तरकारी सङ्कलन केन्द्रका सञ्चालक युवराज थापाले बताउनुभयो । “कालिकोटमा विद्युत् लाइन नहुँदा बेमौसमी तरकारी तथा फलफूल भण्डारण गर्नका लागि अप्ठ्यारो थियो । समयमा बिक्री नहुँदा किसान मारमा पर्ने गरेका थिए”, उहाँले भन्नुभयो, “कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारी तथा फलफूल खेर जाने छैन ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर