राँझा-बाँकेको ऐतिहासिक जोगागाउँ र गुरुवागाउँ मेला भर्न स्थानीयको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । मङ्गलबारदेखि सुरु भएको मेला भर्न बाँकेलगायत दाङ, सुर्खेत र भारतको विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार, जोगागाउँ बाबाकुट्टीमा लाग्ने जोगागाउँ मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।
यो वर्ष विगतको भन्दा धेरै सर्वसाधारण मेला भर्न आएको जानकी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले बताउनुभयो । उहाँले मेलालाई शान्त र मर्यादित तरिकाबाट सम्पन्न गराउन ध्यान दिइएको उल्लेख गर्नुभयो ।
जानकी गाउँपालिका–५ बेलहरीस्थित गुरुवा गाउँ मेलामा पनि सर्वसाधारणको घुइँचो रहेको छ । मेला हेर्न भारतीयहरु पनि ठूलो सङ्ख्यामा आएको वडा नं ५ का अध्यक्ष टीकानाथ यादवलै बताउनुभयो ।