काठमाडौं, २० कात्तिक : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ ।
देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार डडेल्धुरा पुगेका देउवाले तीन दिन चुनावी सभालाई सम्बोधन गरे ।देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए । उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।
देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ ।
उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् । डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।