सशस्त्र प्रहरीले ढुङ्गा र बालुवा सफा गर्दै गएपछि पुरानो धारमा फर्किदै मस्र्याङ्दी — OSNepal

सशस्त्र प्रहरीले ढुङ्गा र बालुवा सफा गर्दै गएपछि पुरानो धारमा फर्किदै मस्र्याङ्दी

LC (KTM) June 28, 2021 0

मनाङ, १४ असार- सदरमुकाम चामे स्थित मस्र्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मस्र्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ ।

सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं”, प्रजिअ लामिछानेले भन्नुभयो ।

जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मस्र्याङ्दीले धार परिवर्तन गरेको थियो । मौसम अनुकुल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाई गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।

“बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरु पूर्ण रुपमा लागिपरेको छ”, उहाँले भन्नुभयो । नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उहाँले बताउनुभयो । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पु¥याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर