काठमाडौं । डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको साटो मौसमको जुस चढाउँदा एक बिरामीको निधन भएको छ । खबर हो भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लाको । उपचारका लागि भर्ना भएका बिरामीको शरीरमा रगतको प्लेटलेट्सका लागि प्लाज्मा दिनुको साटो रगतमा मौसमको जुस हालिदिएपछि बिरामीको मृत्यु हुँदा खैलाबैला मात्रै भएन यो विषयले ठूलो बहसको विषय बनेको हो ।
स्थानीय ग्लोबल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचाररत डेंगुका बिरामी प्रदिप कुमारको मृत्यु भएको आजतकले जनाएको छ । भारतीय मिडियाका अनुसार प्रदिपको रगतमा प्लेटलेट्सको कमी भएका कारण रगतको प्लाज्मा चढाउनु पर्ने ठाउँमा गतको पोकामा मौसमको जुस राखेर ड्रिप मार्फत् प्रदिपको शरीरमा हालिदिएको केही समयमा नै उनको निधन भएको हो ।
जुन घटनाको दृश्य पनि सार्वजनिक भएको छ जसमा एकजना व्यक्तिले रगतको प्याकेटभित्र मौसमको जुस राखिएको भन्दै प्रशासनमाथि पनि प्रश्न उठेको छ । अस्पतालमा प्रदिप कुमारको मृत्यु भएपछि त्यहाँ भर्ना भएका बिरामीलाई अरु अस्प्तालमा सारिएको छ ।
उत्तरप्रदेशका उपमुख्यमन्त्री ब्रजेस पाठकले उक्त घटनाको छानबिन गर्न आदेश दिए लगत्तै अनुसन्धान सुरु गरिएको छ । बिरामीको शरीरमा चढाइएको भनिएको मौसमको जुस राखिएको रगतको प्याकेट पनि परीक्षणका लागि पठाइएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।