हुलाकी सडक: बलान र कमला नदीमा पुल निर्माण भएपछि स्थानीयवासीमा उत्साह — OSNepal

हुलाकी सडक: बलान र कमला नदीमा पुल निर्माण भएपछि स्थानीयवासीमा उत्साह

LC (KTM) June 28, 2021 0

लहान, १४ असार – लामो समयको प्रतीक्षापश्चात् पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहाको बलान नदी र कमला नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् । हुलाक सडकअन्तर्गत सिरहा र सप्तरी जोड्ने बलान नदी तथा सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह बढेको हो ।

विगत एक दशकदेखि निर्माणाधीन दुवै नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो । उक्त दुवै पुल निर्माणका लागि पटकपटक स्थानीयवासीले धर्ना तथा अनशनसमेत बसेका थिए । निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिम चरणमा पु¥याएको सिरहाको भगवानपुरका स्थानीयवासी शिवदयाल यादवले जानकारी दिनुभयो । अहिले बलान खोलको पुल ९० प्रतिशत सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत पुनः सञ्चालन भइसकेको उहाँको भनाइ छ । “पुल नहुँदा वर्षांैदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपुर्ण यात्रा गर्दै आएका थिए”, भगवानपुरका अर्का स्थानीयवासी सरोज साहले भन्नुभयो, “ढिलै भए पनि वर्षायामको शुरुआतमै पुल निर्माण करीब सम्पन्न भएका छन्, जसका कारण यस वर्ष आवातजावत सहज भएको छ ।”

यस्तै निर्माण शुरु भएको करीब १० वर्षपछि सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा पनि पुल निर्माण अन्तिम चरणमा पुगेको छ । कूल ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुल निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी पाँच प्रतिशत कामसमेत असार महिनाभित्रै सकिने ठेकेदार निर्माण कम्पनी पप्पु लुम्बिनी बिल्डर्सका इन्जिनीयर सूर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।निर्माण गरिएको पुलको रेलिङ निर्माण र फिनिसिङको काम भइरहेको जानकारी दिँदै इन्जिनीयर शर्माले यही महिनाभित्र लिङ्क रोडको कामसमेत सकिने बताउनुभयो । साथै पुल नजीकै तटबन्ध निर्माण गरेर नदीको धारसमेत परिवर्तन गराइसकेकाले साउनबाट पुल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको इन्जिनीयर शर्माको भनाइ छ ।

यसैबीच हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा करीब १४ र सप्तरीमा १८ किलोमिटर सडक कालोपत्र सकिएको जनाइएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा सिरहा नगरपालिका–१९ देखि बरियारपट्टि गाउँपालिकासम्मको करीब १४ किलोमिटर सडक कालोपत्र सकिएको सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनीका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिनुभयो । अन्य सडक खण्डमा समेत तीव्ररुपमा कालोपत्र भइरहेको जनाइएको छ ।
दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताउनुभयो । पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताउनुभयो । करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुल निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवले सुनाउनुभयो ।

मधेशकै लाइफ लाइनका रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भए पनि मधेशको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ । हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारण सास्ती बेहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर