बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन — OSNepal

बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन

LC (KTM) October 25, 2022 0

मुगु-गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।
गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पुर्‍याएको छ । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । केही समयभित्रै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादनको प्रयास गरिरहेका छौँं,” उहाँले भन्नुभयो ।

भौगोलिक रुपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत सेवा लिने ग्राहकको सङ्ख्या तीन हजार एक सय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर