काठमाडौं, ७ कात्तिक – आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेर देशैभर धुमधामले मनाइएको छ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरी मनाइयो ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्दै घरघरमा लक्ष्मी भित्र्याउने काम गरियो । घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेर लक्ष्मी पूजा मनाउँदा काठमार्डौँ भने झलमल्ल गरी बल्यो । उज्यालो काठमाडौँमा झिलीमिली बत्ती देख्दा लाग्थ्यो स्वर्ग भनेको यही होकी भन्ने ।
आजको दिनमा लक्ष्मीसँगै भगवान गणेशको पनि स्थापना गरि मनाइयो । दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरियो । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ ।
भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ ।भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् ।यस दिनलाई दिपमालिका र सुखरात्री पनि भन्ने गरिन्छ । आज गाइपूजा, प्रतिपदाका दिन गोवर्द्धन पूजा र म्हपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।