आठ वर्षदेखि सडक नबन्दा बूढानीलकण्ठका स्थानीयवासी आन्दोलित — OSNepal

आठ वर्षदेखि सडक नबन्दा बूढानीलकण्ठका स्थानीयवासी आन्दोलित

LC (KTM) June 27, 2021 0

काठमाडौँ, १३ असार -आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ –१२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै आन्दोलित बनेका हुन् ।

सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा बेवास्ता गरेको भन्दै आज वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईका नेतृत्वमा सडक विभाग कार्यालयमा तालाबन्दी गरिएको थियो । ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएका विषयमा विरोध जनाएसँगै वडाध्यक्ष भट्टराईसहित केही व्यक्तिलाई पक्राउ गरिएको थियो । प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई केही समय नियन्त्रणमा लिएर छाडिएको जानकारी दिनुभयो । वडाध्यक्षसहित १५ जनालाई प्रहरीले प्रक्राउ गरी तीनकुने प्रहरी कार्यालयमा लगेको थियो ।

विसं २०७२ मा बोलपत्र भएको बाटो हालसम्म मर्मत नभएपछि आन्दोलन गर्न बाध्य भएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । “हामी वडावासीको मुख्य माग भत्काएको बाटो मर्मत हुनुपर्छ भन्ने हो, जनताले रकम सङ्कलन गरेर बनाएको बाटो भत्काएर राखिएको छ, आठ वर्ष हुँदासम्म बाटो मर्मत नभएपछि बाध्य भएर विभागमा तालाबन्दी गरेका हौँ”, उहाँले भन्नुभयो ।विसं २०६१ मा स्थानीयवासीले रकम सङ्कलन गरेर कालोपत्र गरेको उक्त सडक फराकिलो बनाइने र ढल राख्ने भन्दै भत्काइएको थियो । सम्बन्धित निकायले आश्वासन दिए पनि हालसम्म मर्मत नभएको जनाई उनीहरुले आन्दोलन गरेका हुन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर