बर्षोदेखि आफ्नै घरको कौसीमा लहलह तरकारी फदाउदै आएकी तनहुँकी कल्पना भन्छिन् 'घरमा खाएर पनि बजारमा बेचेर मनग्य आम्दानि गरेकी छु' — OSNepal

बर्षोदेखि आफ्नै घरको कौसीमा लहलह तरकारी फदाउदै आएकी तनहुँकी कल्पना भन्छिन् ‘घरमा खाएर पनि बजारमा बेचेर मनग्य आम्दानि गरेकी छु’

LC (KTM) June 27, 2021 0

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

घरमा भ¥याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ ।

उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहँु शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनुभएकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको सुनाउनुभयो । “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उहाँले भन्नुभयो ।

घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाइ छ । उहाँले कौसीखेती गर्न थालेको करीब १५ वर्ष भइसकेको छ । दमौलीमा घर बनाएर बसेदेखि नै अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाइ छ ।

तरकारी उत्पादनका लागि गौलीले कम्पोष्ट मल बनाउनुभएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठूलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनुभयो । त्यसबाहेक तरकारीमा किरा नलागोस् भनेर पिना तथा गाईको गहुँत पनि कहिलेकाहीँ प्रयोग हुन्छ । पानीका रुपमा भाडा माझेको पानीलाई थोपा सिँचाइमार्फत सिञ्चित गर्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिले बजारमा बिक्रीका लागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेका कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेले जमीनमा र नहुनेले कौसी या छतमा लगाउन सुझाव दिनुभयो ।

दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको सङ्ख्या अत्यधिक रहेकाले कौसीखेतीका बारेमा सबै जानकार हुनसके घरमै तरकारी फलाउन सकिने गौलीको भनाइ छ । कौसीखेतीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएका कारण कौसीखेती उपयुक्त विकल्प रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार विषादीरहित तरकारी उपभोग गर्न पाइने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने हुँदा यसका धेरै फाइदा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर