झापा- झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो ।व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहनुभएको छ । थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उहाँले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाउनुभएको छ । अहिले उहाँको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ । उहाँले भन्नुभयो, “पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमीन बाँझैँ बस्थ्यो । तर अहिले त्यही बगान भित्र सबै थोक लगाएको छ, गर्दा हुँदो रहेछ ।”
सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् । उहाँले एक बिघा क्षेत्रफलमा कागती खेती गर्नुभएको छ । कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उहाँ आफै चकित हुनुहुन्छ । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोक्नुभएका उहाँ अहिले अरुलाई पनि जमीन बाँझो नराख्न सल्लाह दिनुहुन्छ ।ओम नय शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरु गरेपछि उहाँको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ । नगरेर रहेछ उहाँले भन्नुभयो, “जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।”
सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिने गरेको छु ”, उहाँले भन्नुभयोे । जयपुर क्षेत्रमा सुपारी बगान भित्र धेरैले अन्य खेती गर्दै आएका छन् । तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् ।मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।