भूकम्पको दृष्टिकोणबाट नेपाल संसारका सबैभन्दा बढी जोखिम रहेका मुलुकमध्ये ११औँ स्थानमा — OSNepal

भूकम्पको दृष्टिकोणबाट नेपाल संसारका सबैभन्दा बढी जोखिम रहेका मुलुकमध्ये ११औँ स्थानमा

LC (KTM) June 27, 2021 0

काठमाडौँ, १३ असार – सङ्कटासन्नता र जोखिमका सम्बन्धमा गरिएको अध्ययनअनुसार भूकम्पको दृष्टिकोणबाट नेपाल संसारका सबैभन्दा बढी जोखिम रहेका मुलुकमध्ये ११औँ स्थानमा छ । विपद्का घटनाको मात्रा, प्रकृति, भौतिक, सामाजिक र आर्थिक प्रभाव एवं क्षतिका दृष्टिले बाढी र पहिरालाई आकस्मिक प्रमुख विपद्का रूपमा हेरिने गरिएको छ । नेपालको दक्षिणी तराईको समथर जमीन, मध्य पहाडी र उच्च हिमाली भूभाग बाढी, पहिरा र डुबानका हिसाबले जोखिम क्षेत्र हुन् ।

हिमालको पानीलाई नियन्त्रणमा राख्ने प्राकृतिक बाँध नष्ट हुनु तथा हिमनदीले बगाएर ल्याएको ढुङ्गा–माटोका थुप्रोका कारणबाट हिउँका ढिक्का पग्लिएर बनेका हिमताल बाँधको माथिल्लो भागमा हुने जलचापले विष्फोटनबाट बाढीको जोखिमलाई बढाइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर भन्नुहुन्छ, “तल्लो तहसम्म संरचना रहेकाले विपद्का समयमा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा फौजका रूपमा नेपाल प्रहरीले काम गरिरहेको छ, जोखिम निकै ठूलो देखिएको अवस्थामा अन्य सुरक्षाफौज र सरोकारवाला निकायसँगको समन्वयमा मिलेर हामीले खोज, उद्धार र राहतका काम गरिरहेको छौँ ।”

मनसुनको शुरुसँगै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा भएको भीषण वर्षाका कारण मेलम्ची बजारलगायत क्षेत्रमा पहिरा र बाढीबाट ठूलो जनधनको क्षति भएको छ । उक्त क्षेत्रमा आफन्त, घरगोठ र व्यवसाय गुमाएका नागरिकलाई पीडामा मलम लगाउने काममा अहिले सबै जुट्नुपरेको छ । यसपटक हिमाली जिल्ला मनाङ पनि बाढी पहिराको चपेटामा परेको छ । त्यहाँ पनि ठूलो परिमाणमा भौतिक संरचना र सम्पत्तिमा क्षति भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर