मध्यपुरथिमि- खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको-कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।
“पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काले भन्नुभयो, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”
आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।रासस