काठमाडौँ उपत्यकामा आज विहानैदेखि वर्षा — OSNepal

काठमाडौँ उपत्यकामा आज विहानैदेखि वर्षा

LC (KTM) June 26, 2021 0

काठमाडौँ, १२ असार- मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले हाल देशका अधिकांश भू–भागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज विहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनुका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी असार १४ गते सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर