काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहिँ आफैलाई सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको बताएका छन् ।
देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको बताएका अध्यक्ष प्रचण्डले यसको रक्षाका लागि मिहिनेत गर्न सबैलाई अपिल समेत गरेका छन् ।
बिहिबार माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको दावी समेत गरे ।
‘मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ ।’ प्रचण्डले भने ।
राजनीतिको केन्द्र आफू बन्दा जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव सुनाएका प्रचण्डले अहिले आफूले जनयुद्धको बेलामा भन्दा बढी मिहिनेत गर्ने गरेको भन्दै आफ्ना नेता कार्यकर्तालाई पनि काम गर्न आग्रह गरे ।