काठमाडौं २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रशिक्षण विभागका सदस्य समेत रहेका नेता तेजविक्रम शाहले पार्टी परित्याग गरेका छन् ।
नेता साहले सामाजिक सञ्जाल मार्फत पार्टीमा आफ्नो साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई लेखेको पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
राप्रपाबाट राष्ट्रवादी आन्दोलन सफल हुन नसक्ने देखेपछि पार्टी परित्याग गर्न लागेको बताएका उनले राप्रपा सिद्धान्त र विचारबाट बिमुख हुँदै गएको बताए ।
उनले पत्रमा भनेका छन् , ‘पार्टीको सैद्धान्तिक आदर्श र वैचारिक आधारस्तम्भसँग प्रतिकूल हुने गरी कार्यनीति अवलम्बन गरिएकाले अब यो पार्टीबाट राष्ट्रवादी आन्दोलन सफल हुन नसक्ने देखिएकाले आजैको मितिदेखि लागू हुने गरी प्रशिक्षण विभागको केन्द्रीय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको जानकारी गराउँछु’ ।