काठमाडौं २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले प्रवेश गरेका पुर्व माओवादीका नेताहरुलाई घर फर्किन आह्रान गरेका छन् ।
तत्कालिन नेकपा विभाजन भएपछि एमालेतिर गएका राम बहादुर थापा , टोप बहादु रायमाझी लगायतका नेताहरुलाई प्रचण्डले माओवादीमै फर्किन आह्रान गरेका हुन् ।
बुधवार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो आह्रान गरेका हुन् । एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीसहित प्रदेश र जिल्लास्तरीय नेताहरुलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले एमाले प्रवेश गरेका साथीहरु अहिले छटपटी र बेचैनीमा बाँचिरहेका बताए ।
सिनियर नेताहरुलाई पनि घर फर्काउने वातावरण बनाइने बताएका प्रचण्डले त्यत्रो लडाइँमा सँगै लडेका साथीहरुले पक्कै पनि हाम्रो अभाव अनुभूत गरेको हुन सक्ने बताए ।
प्रचण्डले भने, ‘हिजो माओवादी आन्दोलनका धेरै सिनियर साथीहरु एमालेमा हुनुहुन्छ । उहाँहरु अहिले वडा पीडा, छटपटी र बेचैनीमा बाँचिरहनुभएको होला । चैन केही पनि छैन होला । त्यत्रो लडाइँमा सँगै लडेका साथीहरुले पक्कै पनि हाम्रो अभाव अनुभूत गर्नुभएको होला । ती सबै साथीरुलाई घर फर्किने वातावरण बनाउनुपर्छ ।’