संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना के हुन्छ ? अन्तिम मत परिणाम आएपछि मात्र पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु हुनुपर्छ : गगन थापा
काठमाडौं २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के हुन्छ भन्दै प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै महामन्त्री थापाले संसदको कार्यकालको विषयमा निणर्य लिँदा संविधानमै फर्कनु पर्ने बताएका छन् ।
एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्ने बताएका थापाले यस विषयमा सबै दलले सोच्नु पर्ने बताए ।
‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो, समयमै त्यो काम गर्नबाट चुक्यौँ, स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो, तर हामीले गरेनौँ, हामी यसमा चुक्यौं’ थापाले भने ।
अन्तिम मत परिणाम आएपछि मात्र पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको नेता थापाले बताए । एक दुई महिनाका लागि सेवा सुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै नेता थापाले यस विषयमा आपत्ती जनाए ।