तनावै-तनावमा देउवा, फेरी सभापति बन्ने बाटोमा तगारो ! — OSNepal

तनावै-तनावमा देउवा, फेरी सभापति बन्ने बाटोमा तगारो !

LC (KTM) June 24, 2021 0

काठमाडौँ – ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन्। पपुलर भोटमा कांग्रेस पहिलो पार्टी भए पनि प्रत्यक्षतर्फ प्राविधिक कारणले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको दोहोर्‍याउँदै पहिलो पार्टी बनाएर मात्र राजनीतिबाट विश्राम लिने चाहना देउवाले प्रकट गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्‍याएको छ। तर, निकटहरूले देउवालाई सभापतिको उम्मेदवार बन्न अर्को सर्त अघि सार्दै भनेका छन्, ‘विमलेन्द्र निधिको कुरा के हो ? उहाँलाई समेटेर अघि बढ्नुहोला नत्र अप्ठेरो पर्छ।’ पार्टी उपसभापतिको जिम्मेवारीमा रहेका निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन्। देउवाले भन्ने निकटहरूसँग भन्दै आएका छन्, ‘ऊ (निधि) पनि लड्छ, म पनि सभापतिमा लड्छु, केही फरक पर्दैन।’

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरूको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ। आफ्नो समूहबाट सर्वसम्मतिले १४औं महाधिवेशनमा नेतृत्वको प्रत्यासी बन्ने देउवाको चाहनालाई निधिले खण्डित गरिदिएका छन्। देउवाले पूर्वसहमति पालना नगरेको भन्दै आफू पनि पार्टी नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै निधिले भेटघाटलाई तीव्र बनाएका छन्। उनी पार्टी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित युवा केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफलमा जुटेका छन्। निधिको सक्रियतासँगै देउवानिकट नेताहरूले भन्न थालेका छन्, ‘उहाँ (निधि) आफैं सभापति बन्न मत पु¥याउनुहुन्छ कि हुन्न थाहा छैन तर देउवालाई हराउने सामथ्र्य भने राख्न सक्नुहुन्छ।’

तर सभापति देउवा र उनीनिकट केही नेता भने उपसभापति निधिले टिममा अझै विद्रोह गर्ने सम्भावना नरहेको र गरिहाल्दा पनि आफूहरूका लागि १४औं महाधिवेशन १३औं भन्दा अनुकूल हुने बुझाइमा छन्। संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा एउटै मात्र उम्मेदवार बन्ने सम्भावना नरहेको बताउँदै एकभन्दा बढी उम्मेदवार हुँदाको लाभ आफ्नो पक्षलाई स्वाभाविक हुने विश्लेषण छ। नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला नेतृत्वको प्रतिस्पर्धामा रहेको बताउँदै देउवानिकट ती नेताले भने, ‘गुटहरूको महासंघजस्तो उक्त समूहले सभापतिदेखिको टिम तत्काल बनाउन सक्ने पनि देखिँदैन। त्यहाँ गएर निधि दाइको भूमिका के हुन्छ र ?’

१३औं महाधिवेशनपछि पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छदार, सुनिल थापासहितको समूह आफूहरूसँगै रहने बुझाइमा रहेको देउवा पक्ष पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि समेटेर अघि बढ्ने रणनीतिमा देखिन्छ। नेता रामचन्द्र पौडेललाई सभापतिमा अस्वीकार गर्दै सिटौलाले १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए।

तत्कालीन संस्थापन पक्षबाट सिटौलाको विद्रोहले नै देउवालाई कांग्रेस नेतृत्वमा पु¥याउन सहयोगी बनेको थियो। अहिले पनि देउवा र सिटौला सम्बन्ध सुमधुर रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘निधिसहितका नेताहरू सम्भाव्य विद्रोहलाई सिटौला पक्षको सहयोगले भरथेग गर्छ। गच्छदार र थापा समूहको सहयोगले नेतृत्वमा पुग्न सहयोगी बन्छ।’ सिटौलानिकट केही केन्द्रीय सदस्यहरू देउवाले बोलाएको बैठकमा सहभागी भए पनि १४औं महाधिवेशनमा उक्त समूहको भूमिका कस्तो हुन्छ, स्पष्ट छैन।

१३औं महाधिवेशनमा पार्टीभित्रको प्रतिपक्षीमा रहेका देउवा १४औं महाधिवेशन आफैंले गराउँदा त्यसको लाभ पनि उठाउन सकिने विश्लेषण छ। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यताको टुंगो लाग्नै बाँकी रहेका बेला आफैं नेतृत्वमा अघि सर्ने देउवाको घोषणाले उक्त कार्य पनि प्रभावित हुन सक्ने इतर पक्षको आशंका छ। छोटो समयमा छानबिनको काम सक्नुपर्ने दबाबमा सदस्यता छानबिन समिति रहेको र अहिले शतप्रतिशत सदस्यता थप भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर