काठमाडौं १९ भदौ । आगामी निर्वाचनको लागि अब दुई दिन भित्र सीट बाँडफाँडको कामले पुर्णता पाउने भएको छ ।
आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले अबको दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने बताइएको हो ।
बैठक पछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने बताए ।
‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं ‘, मन्त्री कार्कीले भने ।
सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुने गरी निर्णयमा पुग्ने दाबी गरेका कार्कीले सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको बताए ।
बैठकमा सत्ता गठवन्धन दलका शिर्ष नेताहरुको सहभागिता रहेको छ ।