काठमाडौं १५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको विषयमा राजनीति नगर्न भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका छन् । बुधबार अध्यक्ष प्रचण्ड केहि नेतासहित शितल निवास पुगेका थिए ।
राष्ट्रपतिले संघीय संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक पुनर्विचारकबा लागि संसदमा फिर्ता पठाएको विषयमा परामर्श गर्न प्रचण्डसहित माओवादी नेताहरुलाई शीतलनिवास बोलाएकी थिइन् ।
भेटमा प्रचण्डले वर्तमान सरकारले नागरिकता समस्या समाधानका लागि ल्याएको नागरिकता विधेयक रोकेर राम्रो काम नगरेको भन्दै राष्ट्रपतिको आलोचना गरे । नागरिकता विधेयकमा केपी ओली प्रधानमन्त्री भएका बेला ल्याएको अध्यादेशमा भएकै व्यवस्था राखेर ल्याइएकामा अनावश्यक राजनीतिकरण गर्न खोजिएको बताएका प्रचण्डलाई राष्ट्रपतिले वैवाहिक अंगीकृतलाई नागरिकता दिनेबारे समयसीमा नराखिएको भन्दै आपत्ती जनाइन् ।
‘मैले पटकपटक विधेयक टेबल गरौं भन्दा ओलीजीले मान्नुभएन पाँच महिनासम्म त्यसै राखेर अध्यादेश ल्याउनुभयो ।’ प्रचण्डले भने । जन्मसिद्ध नेपाली नागरिकता बाहकका ७ लाख नेपाली सन्तान हाल नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध तानलाई नागरिकता दिन विधेयक ल्याउँदा राजनीति भएको प्रचण्डले बताए ।
सात वर्षीय प्रावधानबारे राष्ट्रिय सहमति जुटाएर अर्को विधेयक ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले राजी गराएको समेत जानकारी गराएका प्रचण्डले राष्ट्रपतिलाई प्रतिनिधिसभाबाट पारित भइसकेको र राष्ट्रियसभाले पारित गरेर फेरि पठाउने विधेयक नरोक्न आग्रह समेत गरे ।