काठमाडौं १२ भदौ । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरेको जानकारी दिएको छ ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले आज आइतबार पत्रकार सम्मेलन गर्दै गत वर्ष सोधिएको प्रश्नपत्र यसपालिको परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको जानकारी दिएका हुन् ।
यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न नमिल्ने बताएका बाँस्कोटाले भने , ‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ’।
गत जेठ १८ गते लिइएको पब्लिक इकोनोमिक्स र २३ गतेको इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्याएपछि यस विषयमा विरोध भएको थियो ।
विगतमा दुई जना शिक्षकको हत्या भएकोले नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविले जनाएको छ ।