जाजरकोट, ९ असार- भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।
दूध पकेट क्षेत्र बनाउने गरी भैँसीपालन पकेट क्षेत्र निर्माण गर्न भैँसी वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ चार समूहमा रु ४८ लाखभन्दा बढीका क्रस मुर्रा जातका भैँसी वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख घर्तीले जानकारी दिनुभयो । मङ्गलबार १० किसानलाई क्रस मुर्रा जातको भैँसी वितरण गरिएको नगरपालिकाले यही असार २३ गतेसम्म बाँकी रहेका तीन भैँसीपालन कृषक समूहमा वितरण गरिसक्ने जनाएको छ । नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मुर्रा जातको भैँसी वितरण गरिएको हो । (रासस)