काठमाडौं
अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति सरेको छ । यसअघि १८ कात्तिकदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र मिति सरेसँगै १९ फागुनदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । आगामी मंसीरमा हुन लागेको संघ र प्रदेशको चुनावका कारण चलचित्रको पूर्वनिर्धारित मिति सारिएको जनाइएको छ ।
फागुन १९ गते मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरज पाण्डेको ‘परस्त्री’ ले प्रदर्शन मिति तोकेका छन् । यसकारण यी तीन नेपाली चलचित्रबीच प्रतिस्पर्धा हुने छन् । लक्ष्मण सुनारले निर्देशन गरेको ‘बुलाकी’ जारी प्रथामा आधारित चलचित्र हो । सौर्य दैनिकमा खबर छ । टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रमा अभिनेत्री सुरक्षासँगै अभिनेता नरेन खड्का, विराज विष्ट लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा राजबहादुर सानेको रहेको छ । यस्तै, पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन् ।