काठमाडौँ, ८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आ क्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका¬¬–६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउनुभयो । उहाँले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो ।
थपिए चार हजार ५२२ कोरोना सङ्क्रमित-थप चार हजार ५२२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख २६ हजार ३४३ र एन्टिजेन पोजेटिभ २८ हजार १२७ पुगेको छ । हालसम्म ३२ लाख ८५ हजार ५३ जनाको पिसिआर र एक लाख ५१ हजार ५९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार ९५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या पाँच लाख ६४ हजार ८८२ पुगेको छ । कारोना निको भएको दर ९० दशमलव २ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या आठ हजार ८१३ पुगेको छ ।मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।(रासस)