काठमाडौँ ८ असार । नेकपा एमाले माधव नेपाल समूहका स्थायी समिति सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिपर्ने बताएका छन् ।
नेता आर्चायले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत भएको भन्दै पार्टी एकताको लागि ६ सहमति अघि सारेका छन् । उनले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नु बताएका छन् ।
यस्ता छन् नेता आर्चायले अघि सारेका ६ सुझाव :
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नु पर्दछ ।
(३) पार्टी भित्रका गुटहरूको टकरावका कारण यसबी भएका द्वन्द्व र कामहरूको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमी-कमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टीलाई विधि-विधान र स्थापित मान्यताहरूको आधारमा सञ्चालन गर्नु पर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरूसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरू रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।