काठमाडौं २९ साउन । यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेपनि अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत हुने गरी तलवमान गरेपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए ।