काठमाडौं २७ साउन । सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ ।
आज शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा। भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
त्यसैगरी, कार्यदलको सदस्यसचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।