काठमाडौं २३ साउन । राष्ट्रियसभा सदस्यहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गर्दै सरकारको ध्यानाकषर्ण गराएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले बोल्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको भन्दै नेपालमा पनि तत्काल मुल्य समायोजन गरी मुल्य घटाउन माग गरेका हुन् ।
भारतबाट दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आइसकेको अवस्थामा पनि सरकारले मुल्य नघटाएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गरिएको हो ।
साथै, बैठकमा राज्यले युवालाई सही दिशा दिन नसकेकाले युवावर्ग विकृतिको शिकार हुन सक्ने खतरामा परेको भन्दै सांसद दिपा गुरुङले खेलकुद मन्त्रालयको बजेट कम भएको बताइन् ।
खेलकुद विकास र समृद्धिको परिचायक भएकोले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा उनले बताइन् ।
यता सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकोले मन्त्रीका काम जनताले हेर्न पाउनुपर्ने भन्दै सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताए।