अनुसा थापा
काठमाडौंको बौद्धमा हिजो दिँउसो तीन जना विदेशीहरु ठमेल जानका लागि ट्याक्सीको खोजीमा थिए । बौद्ध गेटअघि पाँच वटा ट्याक्सी रोकिरहेको थियो । नेपाली भाषा बोल्न जान्ने विदेशीले पाँच वटै ट्याक्सीलाई मिटरमा ठमेल लगिदिन आग्रह गरे । तीमध्ये एउटा ट्याक्सीले पनि मिटरमा जान मानेन् । बौद्धबाट ठमेल गएको १५ सय रुपैंया मागिरहेका थिए । बौद्धबाट चाबहिल, कालोपुल, नक्साल र नागपोखरी हुदैं ठमेल पुग्ने बाटो बढीमा पाँच किलोमिटर होला । पाँच किलोमिटर बाटो भएपनि ट्याक्सी चढ्नेबित्तिकै ५० रुपैंया आँउछ । प्रति किमि ५० रुपैंया तोकिएको छ । मिटरमा गएको भए तीनदेखि चार सय रुपैंया भए पुग्छ । चार सय रुपैंया आउने बाटोमा १५ रुपैंया खुलेआम माग्छन्, ट्याक्सी चालक । मिटरमा यात्रु नबोक्ने भए मिटर किन चाहियो ? यता, विदेशी र स्वदेशीलाई दिनदहाडे ठग्दा पनि ट्राफिक प्रहरी महाशाखा के हेरेर बसिरहेको छ ? नेपालीलाई त ट्याक्सी व्यवसायीबाट आजित भइसकेका छन् ।
साथै, बढी भाडा लिएर लुट्नु उनीहरुका लागि स्वाभाविकै भइसकेको छ । तर, विदेशीलाई पनि यसरी मोलमोलाई गर्नु कति लज्जास्पद विषय हो । दिँउसै विदेशीसंग भाडाको विषयमा किचकिच गर्नु, सरकारले तोकेभन्दा चौब्बर भाडा असुल्न खोज्नुले उनीहरुको मनोबल घटाइरहेको छ । विदेशीहरु नेपाल आँउदा प्राय बौद्ध, ठमेल, ललितपुर र भक्तपुर घुम्न रुचाँउछन् । विदेशी भन्नेबित्तिकै यहाँ हमज सुरु हुन्छ । उनीहरुलाई देख्यो कि मुर्गा बनाउने कामको सुरुवात हुन्छ ।
ट्याक्सीहरुको लुट र ठगको धन्दा बन्द गर्न सम्बन्धित निकायको ध्यान गएको छैन् । न ट्राफिक महाशाखाले चासो दिएको छ । यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पनि हात बाँधेर बसेको छ । अहिलेको ट्राफिक प्रमुख मीरा चौधरीलाई मिडियाबाजी गर्न टाइम छ तर जनताको काम गर्नुपर्दा उनी व्यस्त भइहाल्छिन् । ट्याक्सीले मात्र नभई अन्य सार्वजनिक यातायातले पनि यात्रु ठगेको छ । तर, उनले त्यस्तो सवारीलाई चेकजाँच गरेर कारबाही गर्न निर्देशन दिएकी छैनन् । मिडियामा ठूल्ठूला कुरा गर्ने तर काम केही नगर्ने । यस्तो ट्राफिक प्रमुखलाई गृह मन्त्रालयले तुरुन्तै सरुवा गर्नुपर्छ । हालको ट्राफिक प्रमुखको पाराले यातायात व्यवसायीको ठगीधन्दा रोकिएला जस्तो देखिदैन् । उता, ट्राफिक व्यवस्थापनमा पनि उनी असमर्थ छिन् । राज्यको ढुकुटीमा आउने राजश्व पनि उनकै कारणले गुमेको छ । ट्राफिक प्रहरीले जति अनुगमन गरेर कारबाही गर्यो त्यति नै राजश्व आउने हो । तर, बाटोमा कतै अनुगमन भइरहेको देखिदैन् । जथाभावी पार्किङ भइरहेको छ, त्यसलाई हटाउन ट्राफिकलाई निर्देशन पनि दिएको छैन् । साउन १४ ट्याक्सी चालक व्यवसायी चालक संघले बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भेला गरेको छ । सम्पूर्ण ट्याक्सी चालकहरु त्यहाँ भेला भएका थिए । भेलामा ट्याक्सीको संख्या धेरै देखाउनका लागि यात्रा गरिरहेको यात्रु झारेर ट्याक्सी चालक सहभागी हुन पुगेका थिए । उपत्यकाभित्र यात्रु बोकेर गुडेका ट्याक्सीबाट यात्रु झारेर कार्यक्रममा ल्याउने काम भएको थियो ।
आपतविपत पर्दाको सवारी हो, ट्याक्सी । बिरामी हुँदा, हतारो पर्दा त ट्याक्सी चढ्ने हो । विडम्वना, यी सब कुरा बिर्सिएर यात्रुलाई बिच बाटोमा ओरालेर ट्याक्सी भेलामा लैजाने काम भयो । भेला हुनका लागि यातायातका नेताहरुले चोकचोकबाट ट्याक्सी समातेर लगेका थिए । भाडाको गाडी दर्ता गर्ने बेलामा आन्दोलन गर्दिन्, सरकारले तोकको भाडामा जनतालाई सेवा दिन्छु र सम्पूर्ण ऐनकानून मान्छु भनिएको हुन्छ । अति आवश्यकीय क्षेत्रमा पर्ने भएकाले उनीहरुले बन्दहड्ताल गर्न पाउदैनन् ।
तर, सरकारको ऐनकानूनलाई यातायात व्यवसायीले धोती लगाइदिएका छन् । यसरी बिच बाटोमा यात्रु ओरालेर दुःख दिदाँसमेत सरकार लाचार भएर टुलुटुलु हेरेर बस्यो । न त्यो गाडीको रोडपरमिट खारेज भयो न दर्ता । कारबाही गर्नबाट सरकार नै पछि हट्यो । भेलामा मन्त्री आउने भनेर जनतालाई दुःख दिन मिल्छ ? मन्त्रीको अगाडी धेरै ट्याक्सी देखाउनका लागि जनतालाई सास्ती दिन मिल्छ ? भेलाको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल गरेका थिए ।
ट्याक्सीको ठगीधन्दा नियन्त्रण गर्छु भन्नुको साटो उनले व्यवसायीको पक्षमा लामो भाषण दिए । गलाभरि माला लगाउन र ताली सुन्नका निम्ति सिण्डिकेट हटाउने, जनतालाई सेवासुविधा दिने कुरै गरेनन् । बरु, नयाँ ट्याक्सीको पाँच वर्ष दर्ता खोल्न दिदैंनौ । एक साताभित्र ट्याक्सीको व्यवसायीको माग पूरा गरिदिन्छु भने । यता, यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका प्रमुख मदन पोखरेलसमेत भेलामा अनुहार देखाउन पुगेका थिए । ट्याक्सी व्यवसायीको सम्पूर्ण माग पूरा गरिदिन्छौं भनेर उनले दाबी गरे । उनीहरुका लागि छुट्टै कमिटी गठन गर्ने कुरासमेत भयो ।
जनताले पाएको सास्तीको बारेमा कसैले पनि कुरा उठाएनन् । सार्वजनिक केन्द्रीय यातायात महासंघ डोलनाथ खनाल र महासचिव भरत नेपालले पनि ट्याक्सीको दर्ता खोल्न नहुने विषय उठाएका थिए । अघिल्लो सरकारको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जाने बेलामा नयाँ ट्याक्सीको दर्ता खोलिदिने तयार पारिसकेकी थिइन् । २०७८ कात्तिक ८ गते मुख्यमन्त्री शाक्यले नयाँ ट्याक्सीको दर्ता खोलिदिने निर्णय गरिसकेकी थिइन् । तर त्यसको दुई दिनपछि उनी पदमुक्त भइन् र मुख्यमन्त्रीका रुपमा राजेन्द्र पाण्डे आए ।
मुख्यमन्त्री पाण्डे आएको खुसीयालीमा यातायात व्यवसायीहरु फुलमाला बोकेर पुगेका थिए । मुख्यमन्त्री र यातायातमन्त्री घनश्याम दाहालको सम्मानमा माला लगाइदिए र आफ्नो स्वार्थ पूरा गरे । ट्याक्सीको भाडा पनि नबढाउने र नयाँ ट्याक्सीको दर्ता पनि खोल्ने पक्कापक्की भइसकेको थियो । तर, मुख्यमन्त्री पाण्डेको सरकारले उथुलपुथुल बनाइदियो । ट्याक्सीको दर्ता खुलेन् तर भाडाचाहि तेब्बरले बढाइयो । १४ बाट ५० फ्लगडाउन, भाडा पनि ३९ बाट ५० । यसको मार त सिधैं जनता र राज्यलाई पर्यो ।
नयाँ ट्याक्सीको दर्ता नखुल्दा यात्रुले आवश्यकता परेको बेलामा ट्याक्सी पाएनन् । गुणस्तरहीन सेवाका लागि मँहगो भाडा तिर्नुपरेको छ । देशमै रोजगारी गर्छु भन्नेले पनि विदेश जान बाध्य भए । ट्याक्सी किनेर चलाउछु, घरपरिवार पाल्छु भनेर सोच्नेहरु बेरोजगार छन् । राष्ट्र र जनतामाथि मुख्यमन्त्री पाण्डेले गद्दारी गरेका छन् । कानूनमा सिण्डिकेट लगाउन पाइदैन् भनेर स्पष्ट उल्लेख छ । खुला प्रतिस्पर्धा गर्नुपर्छ भनिएको छ । तर, कानूनमन्त्रीकै अगाडि ट्याक्सी व्यवसायीले हामी नयाँ ट्याक्सीको दर्ता खोल्न दिदैंनौ भनेर निर्डर भएर आफ्नो कुरा राखे ।
नयाँ ट्याक्सीको दर्ता खोल्न सरकार अघि बढ्यो भने सबै ट्याक्सी बाटोमा ल्याएर तेस्य्राउछौं भन्दा कानूनमन्त्री र यातायात कार्यालयका प्रमुख लाचार भएर सुनिरहे । यता, डोलनाथ खनालले पनि सोही अवसर पारेर सरकारको खिचातानी गरिहाले । हाम्रो दबाबमा सरकारले ट्याक्सी भाडा बढाएको र नयाँ ट्याक्सीको दर्ता रोकेको उनको भनाइ थियो । विभिन्न मजदुर संगठनका नेताहरु पनि सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने अडानमा थिए ।
ट्याक्सीमा भएको बेतिथिबारे कोही पनि बोलेनन् । उपत्यकामा सञ्चालित ट्याक्सी सबै थोत्रा पुराना छन् । तर, यो कुरा कसैले पनि उठाएनन् । यात्रुको पक्षमा कसैले पनि कुरा राखेनन् । अहिले भएका ७९६ सिसीको ट्याक्सीले यात्रुले रद्ध्दीभर पनि सेवासुविधा दिएको छैन् । ट्याक्सी चढेका यात्रुलाई ट्याक्टर चढेजस्तो अनुभव हुने गरेको छ । सलाईको बट्टा आकारमा ट्याक्सी उपत्यकाका सडकमा गुडिरहेका छन् । स्वदेशी र विदेशीलाई राम्रो सेवासुविधा दिने विषय कसैले पनि उठाएनन् ।
ट्याक्सीको समस्या सुनेका मन्त्री र कार्यालय प्रमुखले जनताका समस्या नियालेका छन् ? फूलमालामा बिकेका व्यक्तिहरुसंग के अपेक्षा राख्ने ? ट्याक्सीप्रति जनताको समस्या पनि सुनिदिनुपर्यो । यात्रुलाई ट्याक्सी चालकले कहिल्यै राम्रो बोली व्यवहार गर्दैनन् । कानूनमन्त्रीले खुलेर यात्रुको पक्षमा बोल्न सक्नुपथ्र्यो । तर, ट्याक्सी व्यवसायीको कुटाइ पो खाने हो कि भन्ने डरले मन्त्री नै थुरुरु भइहाले । पछाडि सुरक्षाकर्मी हुँदा पनि उनले आँट देखाएनन् । अहिले भएका ट्याक्सीहरुले प्रदुषण पनि उत्तिकै गरिरहेका छन् । अनि उल्टो त्यही ट्याक्सी व्यवसायीको पक्षमा कुरा उठाउने मन्त्रीलाई लाज लागेन् । ट्याक्सीमा विगत ३३ वर्षदेखि सिण्डिकेट छ । उपत्यकामा नौ हजार ट्याक्सी छ । अन्य जिल्लामा ट्याक्सी नै छैनन् ।