किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा — OSNepal

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

LC (KTM) June 21, 2021 0

झापा, ७ असार- शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो ।उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेवापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने उहाँले बताउनुभयो ।

वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उहाँले बताउनुभयो । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उहाँहरुले बोलाउने गरेको बताउनुभयो । उहाँका अनुसार बजारमा रु ९५ हजारसम्म पर्ने गाईको रु ७५ हजारसम्मको बीमा गर्ने गरिएको छ । स्थानीय किसान शर्मिलाले विकले भन्नुभयो, “न आफूले कुनै बीमावापतको रकम नै तिर्नुप¥यो न अब बस्तु मरे भने ऋणमा डुबिन्छ भनेर चिन्ता नै गर्नुप¥यो, ढुक्क भइयो ।” यसबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ ।

बीमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ । वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । अगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ । वडाध्यक्ष आफैँ पशु बीमाका लागि बीमा कम्पनीका अभिकर्तालाई लिएर किसानको गोठगोठमा पुग्ने गर्नुभएको छ । पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बीमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ ।

पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही तथा घ्यूमा आत्मनिर्भर बनाउनका लागि वडामा बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।पशु बीमा गर्दा बीमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बीमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दावी भुक्तानी दिने व्यवस्था छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर