कञ्चनपुर, ७ असार- कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उहाँले आम्दानी लिँदै आउनुभएको थियो । यस वर्ष कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै गरिएको दुई महिने बन्दाबन्दीले उहाँको जनजीवन असहज बनाइदिएको छ । तरकारी बेच्नका लागि तयार भएकै बेला बन्दाबन्दी हुँदा थोरै मात्रै बिक्री हुन पाएको छ । “छ वर्षदेखि बगरमा तरकारी लगाउँदै आएका हौँ”, उहाँले भन्नुभयो, “बगरमा उत्पादित लौका, करेला, काँक्रा, फर्सी, तरबुजा बेचेर वर्षभरिको खर्च धानिन्थ्यो । बन्दाबन्दीले तरकारी बेच्न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।”
उहाँका अनुसार बन्दाबन्दीले गर्दा मजदुरी पाइँदैन । मेहनत गरी लगाएको तरकारीबाट आम्दानी लिन पाइएको छैन । नदीको बगरमा तरकारी खेती गर्दै आएका प्रतिव्यक्तिले वार्षिकरूपमा रु ७० हजारदेखि एक लाखसम्म कमाउँदै आएका थिए । यस वर्ष छिट्टै भएको बन्दाबन्दी र मौसममा आएको परिवर्तनका कारण नदीमा जेठ महिनामै बाढी आउँदा मुक्त कमैया परिवारले बगर खेतीबाट आम्दानी लिन नसकेका हुन् । बगरमा उत्पादित तरकारी बेचेर रु १० हजारदेखि रु २० हजारसम्म केही परिवारले आम्दानी गरेका छन ।
बगरमा तरकारी खेती गरेका लक्ष्मी चौधरीले थोरै मात्रै तरकारी बेच्न पाएको बताउनुभयो । बगरमा तरकारी भर्खरै बेच्नका लागि तयार हुँदै गरेको बेला भएको बन्दाबन्दीले बेच्न नपाएको उहाँले बताउनुभयो । “प्रत्येक वर्ष पूर्वपश्चिम राजमार्ग छेउमै बसेर उत्पादित तरकारी बेच्थ्यौँ । कोरोनाको सङ्क्रमणका डरले सडकछेउमा बसेर तरकारी बेच्न गाह्रो परेको छ”, उहाँले भन्नुभयो, “डरैडरले तरकारी बेच्नका लागि सडकछेउमा बसे पनि पहिला जस्तो ग्राहक खरिद गर्न आउँदैनन् । त्यसैले पनि थोरै आम्दानी हुन थालेको छ ।”
भारतीयहरुले नदीका बगरमा तरकारी लगाएको देखेर तरकारी रोप्ने, खेत तयार गर्ने, मल राख्ने सीपबारे जानकारी लिएर वनहरा बस्तीका मुक्त कमैया परिवारले बगरमा तरकारी खेती गर्दै आएका हुन् । दश बिघा बगरमा ६० परिवारले बर्सेनि तरकारी खेती गर्दै आएका छन् ।विगतमा इँटाभट्टामा काम गर्दै आएका तौला रानाले तरकारी खेतीबाट गाउँका बासिन्दाले गतिलो आम्दानी गरेको देखेर मजदुरी गर्न छाड्नुभएको थियो । आम्दानी पनि प्रतिवर्ष गतिलो लिँदै आउनुभएको थियो । मजदुरी गर्दा मासिक रु आठ हजार मात्रै उहाँले पारिश्रमिकका रूपमा पाउने गर्नुहुन्थ्यो ।“तरकारी खेतीमा लागेपछि मासिक रु ३० हजार जति आम्दानी आउन थालेपछि यसमै लोभिएँ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीले उत्पादित तरकारी थोरै मात्रै बिक्री हुँदा परिवारको खर्च चलाउन निकै समस्या भएको छ ।”
माघ महिनामा लौका, काँक्रा, फर्सी, तरबुजा र खरबुजाको बीउ बालुवामा रोपेर वैशाखको पहिलो हप्तादेखि असार महिनासम्म फलेको तरकारी बेच्दै आएका छन् तर यस वर्ष नदीमा छिट्टै आएको बाढीले तरकारी बगाएर लगेको छ । बन्दाबन्दीले गर्दा बचेको तरकारी पनि बिक्री नहँदा मुक्त कमैँया परिवार चिन्तित छन ।गत वर्ष बगरमा तरकारी खेतीमा संलग्न मुक्त कमैया परिवारले १० बिघा बगरमा तीन हजार क्विन्टल तरकारी उत्पादन गरेका थिए । यस वर्ष उत्पादन राम्रै भए पनि आधाभन्दा कम मात्रै तरकारी बिक्री गरेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बाह्य क्षेत्रमा बिक्रीसमेत हुन नपाएको मुक्त कमैया परिवारको भनाइ छ । कञ्चनपुरका स्याली, सनवोरा, वनहरा, दोदा, चौधरलगायतका नदीका बगरमा तरकारी खेती हुनेगरेको छ । (रासस)