काठमाडौं ।
वरिष्ठ गीतकार/कवि/गजलकार तथा सामाजिक अभियन्ता अमर वान्तुको नयाँ गीत ‘आँखैको भाकैमा हाम्रो पर्यो माया जाल…’ सार्वजनिक भएको छ । वेदु सारु मगर र रिता केसीको स्वर, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
एकेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’, वल्र्ड कभर मिडिया प्रा.लि.ले सम्पादन गर्नुभएको हो ।दाङको घोराहीको बाह्रकुने ताल घुम्न जादा आँखैको भाकैमा माया प्रेम बसेको गीतमा व्यक्त गरिएको छ । गीतमा दाङमा भएका एतिहासिक र पर्यटकिय महत्वका स्थानहरूको चर्चा गरिएको छ ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको वान्तु बताउनुहुन्छ ।