काठमाडौं ८ साउन । नेकपा (माओवादी केन्द्र)का नेता पुर्व मन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई र वामदेव गौतमको राष्ट्रिय एकता अभियानबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित् संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । आगामी संघीय संसद्को निर्वाचनअघि नै समाजवादी मोर्चा बन्ने दाबी गरेका उनले संसद्को निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने ठोकुवा गरेका छन् ।
आगामी निर्वाचनमा समाजवादी केन्द्रले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने दावी गरेका उनले नेपाली कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुनसक्ने बताए ।
समाजवादी मोर्चा बनेपछि चुनावअघि पार्टी एकता भने नहुने जानकारी नेता पुनले दिए ।