जनकपुर ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध फैलाइएको हल्ला गलत भएको बताएका छन् । शनिबार जनकपुरमा सञ्चारकर्मीको जिज्ञामा अध्यक्ष प्रचण्डले आफु भारत भ्रमणमा जाँदा दिल्लीमा आरजु देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको फैलाइएको हल्ला अफवाह भएको भन्दै स्पष्ट पारेका हुन् ।
आगामी निर्वाचनमा देउवालाई राष्ट्रपति र आरजु र प्रचण्डलाई आलोपालो प्रधानमन्त्री दिने विषयमा बाहिर आएको थियो । आफूविरुद्ध भ्रम फैलाउन कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला मात्र भएको बताएका प्रचण्डले यस कुरामा कुनै सत्यता नभएको बताए ।
दिल्लीमा आरजुसँग नेपाली राजदूत शंकर शर्माद्वारा आयोजित ब्रेकफास्ट मिटिङमा भेट मात्र भएको बताएका प्रचण्डले कुप्रचार गरिएजस्तो कुनै सहमति नभकाले यस्ता भ्रामक समाचारबाट सर्तक रहन आग्रह गरे ।
सबैबीचमा राम्रो समझदारी बनाउनु पर्नेमा जोड दिएका सकेसम्म चुनावी तालमेल गरिने बताए । ‘भोलि पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्छ, यसबारे छलफल चलिरहेको छ,’ उनले भने ।