नेपाली फिल्म जगतका दुई चर्चित हस्ती तुलसी घिमिरे र नीर शाहलाई संगै काम गरेको देख्न पाईने भएको छ । नेपाली सिनेजगतलाई माथि उठाउन महत्वपुर्ण योगदान दिएका यी दुबै ब्यक्तित्वले मिलेर काम गर्ने भएका हुन् । तुलसी घिमिरेको निर्देशन र नीर शाहको निर्माणमा फिल्म ‘कोही किन बर्बाद होस्’ बन्ने पक्का भइसकेको छ ।
यो फिल्म चाँडै नै छायांकनमा जाने तयारीमा जुटेको छ । यो फिल्म उपन्यासकार विजय मल्लको नाट्य कृतिमा आधारित रहने बताईएको छ । अहिले भने यस फिल्मका लागि मुख्य कलाकार छनौटका लागि अडिसन चलिरहेको छ । अर्का निर्माता चैतन्यप्रकाश प्रधानले आउँदो महिनादेखि फिल्मको छायांकन सुरु हुने जानकारी दिए । यस फिल्ममा लगभग ६० जना कलाकार रहने पनि उनले बताए ।
फिल्मको लोकेसन हन्ट पनि भइसकेको छ । यो फिल्म मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दियो । विजय मल्ल स्मृति प्रतिष्ठानसँग मिलेर बनाउन लागिएको यो सामाजिक कथा बोकेको फिल्मले अहिले नेपाली फिल्ममा देखिएको दृश्यभाषाको रिक्ततालाई पूर्ति गर्ने शाहको भनाई छ ।