काठमाडौं २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समिति गठन गर्ने सहमति कार्यान्वयनमा उदाशीनता देखाएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस का सांसदहरु सभामुख अग्नि सापकोटासँग क्रुद्ध बनेका छन् ।
बजेट निर्माणमा बिचौलिया प्रयोग गरी चलखेल गरेको भन्ने आरोपबारे छानविन गर्न समिति गठन गर्ने सहमति भएपनि उक्त विषयबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउनु पर्नेमा सभामुखले आलटाल गरेर पन्छिएको भन्दै कांग्रेस क्रुद्ध बनेको हो ।
काँग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बजेट प्रकरणबारे छानबिन गर्न समिति बनाउने सैद्धान्तिक सहमति भइसक्दा पनि सभामुखले आलटाल गर्नु राम्रो नभएको बताएका छन् ।
मंगलबार राति बालुवाटारमा भएको भेटमा देउवा र प्रचण्डबीच शर्मामाथि छानविन गर्न संसदीय समिति गठन गर्नेबारे सहमति भएको थियो । शर्माले भने बजेट निर्माणका क्रममा अनधिकृत मानिसको मन्त्रालयमा प्रवेश नभएको भन्दै आरोपको खण्डन गर्दै आएका छन ।