काठमाडौं २१ असार । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै नियुक्तिको खारेजी माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उक्त रिट दर्ता भने भएको छैन । सपाले आफ्ना तीन जना मन्त्री फिर्ता बोलाएपछि सोमबार मात्र पद तथा गोपनियताको सपथ लिएका मन्त्रत्री यादव विरुद्ध रिट दायर भएको हो ।
रिटमा भनिएको छ, ‘रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि अयोग्य हुनेछ ।’
राष्ट्रिय सभा सदस्य रहेका यादव साविक राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए ।