कैलाली २१ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठवन्धन सरकार पुर्णरुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको आरोप लगाएका उनले भने, ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ । ‘
करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताएका उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको आशंका व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’ उनले थपे ।
नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्ने दावी गरेका उनले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् ।